भक्तपुर–२ मा हार स्वीकार्दै महेश बस्नेतले दिए राजीव खत्रीलाई बधाई



काठमाडौं,फागुन २३— भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले) का सचिव महेश बस्नेतले हार स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीलाई बधाई दिएका छन्।

मतगणना जारी रहँदा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले यसपटकको निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको उल्लेख गरेका छन्। उनले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन्।साथै विजयी उम्मेदवार खत्रीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

बस्नेतले सूर्य चिन्हमा मतदान गरेर आफूलाई विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता, दाजुभाइ–दिदीबहिनी तथा चुनावी अभियानमा दिनरात खटिएका पार्टीका साथीहरूप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्। उनले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै नहार्ने बताएका छन्। आगामी दिनमा आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको हुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्