झापा–५ मा बालेनको फराकिलो अग्रता, ओली २५ हजारभन्दा बढी मतले पछि
काठमाडौं,फागुन २३ — झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले उल्लेख्य अग्रता कायम गरेका छन्। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका उम्मेदवार केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै शाहले अग्रता बढाउँदै लगेका हुन्।
हालसम्म ५५ हजार २०७ मत गणना हुँदा शाहले ३४ हजार ८ सय ६३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाह ओलीभन्दा २५ हजार ७ सय ९५ मतले अगाडि रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालका अनुसार उक्त निर्वाचन क्षेत्रमा कुल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको छ। उनका अनुसार झापा–५ मा एक लाख ६ हजार ५ सय ६८ मत खसेको थियो।
आधा मतगणना सम्पन्न भइसक्दा ओली करिब २५ हजार मतले पछि परेका छन् भने बाँकी मतगणनाले अन्तिम परिणाम तय गर्नेछ।

