तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी
तनहुँ,फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धीलाई २१ हजार ८ सय ९ मतान्तरले पराजित गर्दै दोस्रोपटक संसदीय यात्रा तय गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८ सय ३० मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले पनि केही मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा कुल १ लाख २६ हजार ८ सय ८२ मतदाता रहेकोमा ६६ हजार ६ सय ९८ मत खसेको थियो। उक्त निर्वाचनमा कुल १६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
यसअघि २०८० सालमा भएको उपनिर्वाचनमा पनि वाग्ले १४ हजार ७ सय ९७ मतान्तरले निर्वाचित भएका थिए। त्यतिबेला उनले ३४ हजार ९ सय १९ मत प्राप्त गरेका थिए भने कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत पाएका थिए। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए।

