चितवन–३ मा रास्वपाकी सोविता गौतम भारी मतान्तरले निर्वाचित
चितवन,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम भारी मतान्तरसहित निर्वाचित भएकी छन्।
अन्तिम मतपरिणामअनुसार गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गरेकी छन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत प्राप्त गरेकी छन्। यसअघि काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी गौतमले यसपटक चितवन–३ बाट पनि प्रभावशाली जित हासिल गरेकी हुन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ८ हजार ३ सय ४४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार शंकर थपलियाले ५ हजार ४ मत प्राप्त गरेका छन्। यस क्षेत्रबाट अघिल्लो निर्वाचन जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने यसपटक १ हजार २ सय २६ मत मात्र प्राप्त गरेको छ। राप्रपाका तर्फबाट दीपक थापा उम्मेदवार थिए।
चितवन–३ मा यसपटक कांग्रेस, एमाले लगायतका गरी २१ जना उम्मेदवारको जमानत जफत भएको छ। कुल १ लाख ५३ हजार मत खसेको यस क्षेत्रमा जमानत जोगाउन उम्मेदवारले खसेको मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

