काभ्रेपलाञ्चोक–२ मा रास्वपाका बदनकुमार भण्डारी फराकिलो मतान्तरले विजयी



काभ्रेपलाञ्चोक,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी फराकिलो मतान्तरसहित विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४ सय ७६ मतान्तरले पराजित गरेका हुन्।

मतगणनाको अन्तिम नतिजाअनुसार रास्वपाका भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ मत पाएका छन्। नेकपा (एमाले) का उम्मेदवार अशोककुमार ब्यान्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार बसुन्धरा हुमागाईंले ८ हजार १ सय ७ मत प्राप्त गरेकी छन्।

यसैगरी उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैजुले ३ हजार ७ सय ४९ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रन्जीव श्रेष्ठले १ हजार १ सय २५ मत प्राप्त गरेका छन्।

काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ५६ दशमलव ५७ प्रतिशत अर्थात् ९१ हजार १ सय २८ मत खसेको थियो भने क्षेत्र नम्बर २ मा ६४ दशमलव १७ प्रतिशत अर्थात् १ लाख ६ हजार २ सय १३ मत खसेको थियो। यसरी जिल्लाभर कुल ६० दशमलव ४२ प्रतिशत अर्थात् १ लाख ९७ हजार ३ सय ४१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नम्बर २ मा १६ राजनीतिक दल र ८ स्वतन्त्र उम्मेदवार गरी कुल २४ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्