नुवाकोट–१ मा रोचक प्रतिस्पर्धा : दुप्चेश्वरको मतसँगै कांग्रेस अगाडि



नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनाले प्रतिस्पर्धालाई झन् रोचक बनाएको छ। सुरुआती चरणमा अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपाली कांग्रेसले पछिल्ला मतपरिणामसँगै उछिनेको छ।

ककनी र तादी गाउँपालिकाका विभिन्न वडाको मतगणनामा रास्वपा उम्मेदवार डा. विक्रम तिमिल्सिना अगाडि देखिएका थिए। तर दुप्चेश्वर गाउँपालिकाको मतगणना सुरु भएसँगै राजनीतिक समीकरण फेरिएको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत ७ हजार ६ सय २६ मतसहित अग्रस्थानमा पुगेका छन्।

रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिनाले ७ हजार ४३ मत प्राप्त गरेका छन्। यससँगै महत तिमिल्सिनाभन्दा ५ सय ८३ मतले अगाडि छन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङ ५ हजार ७ सय ३७ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले ३ हजार ४ सय ४ मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार नुवाकोट–१ मा मतगणना अझै जारी छ। बाँकी चार गाउँपालिकाका विभिन्न वडाको मतगणना हुन बाँकी रहेकाले अन्तिम परिणामका लागि अझै केही समय कुर्नुपर्ने देखिएको छ।

अहिले देखिएको प्रतिस्पर्धाले नुवाकोट–१ लाई यसपटकको निर्वाचनमा सबैभन्दा चासोको क्षेत्रमध्ये एक बनाएको छ। नुवाकोट -२ मा भने रास्वपाका डाक्टर अच्युतम लामिछाने निर्वाचित भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्