समानुपातिकतर्फ रास्वपाको अग्रता, ३ लाख ८३ हजार बढी मत गणना
काठमाडौं,फागुन २३— प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम धमाधम सार्वजनिक भइरहँदा समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा अघि बढाइएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ३ लाख ८३ हजार ९ सय ८६ मत गणना सम्पन्न भएको छ।
आयोगको तथ्यांकअनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ। रास्वपाले २ लाख ५ हजार ६ सय ९ मत प्राप्त गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसले ६३ हजार ५ सय २८ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले ४९ हजार ९ सय ३४ मत हासिल गरेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २० हजार १ सय ४७ मत प्राप्त गरेको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६ हजार ४ सय ८५ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीले ८ हजार १ सय ८१ मत पाएको छ।निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना जारीरहेको छ र आगामी मतपरिणामसँगै दलहरूको मतस्थितिमा थप परिवर्तन हुन सक्नेछ।

