दुप्चेश्वरको मतले फेरियो समीकरण : नुवाकोट–१ मा कांग्रेसको अग्रता, महत ८५१ मतले अगाडि
नुवाकोट,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणनाले अहिले रोचक मोड लिएको छ। सुरुआती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनाएको अग्रता दुप्चेश्वर गाउँपालिकाको मतगणनासँगै उल्टिएको छ र नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।
पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले ८ हजार ३ सय ४० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिनाले ७ हजार ४ सय ८९ मत प्राप्त गरेका छन्। यससँगै महत तिमिल्सिनाभन्दा ८ सय ५१ मतले अगाडि रहेका छन्।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले तारा चिन्हमा ६ हजार ६ सय १५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले सूर्य चिन्हमा ४ हजार १ सय ६७ मत प्राप्त गरेका छन्।
मतगणनाको सुरुआती चरणमा ककनी र तादी गाउँपालिकाका केही वडामा रास्वपा बलियो देखिएको थियो। तर दुप्चेश्वर गाउँपालिकाको मतगणनामा प्रवेश गरेपछि कांग्रेसले मत बढाउँदै अग्रता कायम गरेको हो।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार दुप्चेश्वर क्षेत्र परम्परागत रूपमा वामपन्थी दलहरूका लागि बलियो मानिन्छ। तर यसपटक कांग्रेसले अपेक्षाभन्दा राम्रो मत पाएको देखिएको छ। यसले आगामी गणनामा पनि प्रतिस्पर्धा झन् रोचक बन्ने संकेत गरेको छ।
कांग्रेसका एक स्थानीय नेताका अनुसार अब बाँकी रहेका शिवपुरी र लिखु गाउँपालिकामा पार्टीले अझ राम्रो मत पाउने अपेक्षा गरिएको छ।हाल पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिका तथा सूर्यगढी गाउँपालिकाका सबै वडाको मतगणना हुन बाँकी छ। निर्वाचन कार्यालयका अनुसार नुवाकोट–१ मा मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणामका लागि अझै केही समय कुर्नुपर्नेछ।


