दुप्चेश्वरको मत परिणाममूखी: नुवाकोट–१ मा मतान्तर बढाउँदै डा. महत



नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा प्रतिस्पर्धा अझै चासोपूर्ण बन्दै गएको छ। सुरुआती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनाएको अग्रता दुप्चेश्वर गाउँपालिकाको मतगणनासँगै उल्टिएको छ र अहिले नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले अग्रता विस्तार गर्दै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार डा. महतले ८ हजार ९ सय १२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिनाले ७ हजार ७ सय ५७ मत पाएका छन्। यससँगै महत तिमिल्सिनाभन्दा १ हजार १ सय ५५ मतले अगाडि छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले तारा चिन्हमा ७ हजार १ सय ६५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले सूर्य चिन्हमा ४ हजार ६ सय २० मत पाएका छन्।

मतगणनाको सुरुआती चरणमा ककनी र तादी गाउँपालिकाका केही वडामा रास्वपा बलियो देखिएको थियो। तर दुप्चेश्वर गाउँपालिकाको मतगणनामा प्रवेश गरेपछि चुनावी समीकरण बदलिएको छ। कांग्रेसले त्यहाँ अपेक्षाभन्दा राम्रो मत पाएसँगै अग्रता कायम मात्र होइन, मतान्तर पनि बढाउँदै लगेको छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार दुप्चेश्वर क्षेत्र परम्परागत रूपमा वामपन्थी दलहरूको प्रभाव क्षेत्र मानिन्छ। त्यस क्षेत्रमा कांग्रेसले पाएको समर्थनले यसपटकको निर्वाचनमा मतदाताको धारणा परिवर्तन भएको संकेत गरेको छ। कांग्रेसका एक स्थानीय नेताका अनुसार अब बाँकी रहेका शिवपुरी र लिखु गाउँपालिकाबाट पार्टीले अझ राम्रो मत पाउने अपेक्षा गरिएको छ।

हाल पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिका तथा सूर्यगढी गाउँपालिकाका केही वडाको मतगणना हुन बाँकी छ। निर्वाचन कार्यालयका अनुसार नुवाकोट–१ मा मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणामका लागि अझै केही समय कुर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्