अटो दुर्घटना : चार जनाको मृत्यु, एक घाइते
चितवन,फागुन २३— चितवनको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो आज अनियन्त्रित भई सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विक, राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनी तामाङ र सोही ठाउँकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। उनीहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएकी राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

