हारपछि ओलीले भने-  बालेन बाबु, ‘पाँच वर्षे कार्यकाल सफल रहोस्’



काठमाडौं,फागुन २३ — झापा–५ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजयी उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ लाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन्।

ओलीले सामाजिक सञ्जालमार्फत आफूले बालेनलाई तबला दिएको पुरानो तस्बिर सेयर गर्दै लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् — हार्दिक शुभकामना!”

निर्वाचन परिणाम सार्वजनिक भएसँगै ओलीको यो सन्देशले राजनीतिक वृत्तमा सकारात्मक प्रतिक्रिया पाएको छ। प्रतिस्पर्धा कडा भए पनि परिणामलाई सहज रूपमा स्वीकार्दै उनले विजयी उम्मेदवारलाई शुभकामना दिएका हुन्।

शनिबार सम्पन्न मतगणनाअनुसार झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह भारी मतान्तरसहित निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष ओलीलाई ४९ हजार ६ सय १४ मतले पछि पार्दै जीत हासिल गरेका हुन्।

मत परिणामअनुसार शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् भने ओलीले १८ हजार ७ सय ३४ मत मात्र पाएका छन्। चुनावी प्रतिस्पर्धापछि आएको ओलीको शुभकामना सन्देशलाई राजनीतिक संस्कारको उदाहरणका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्