नुवाकोट १ मा दुई डाक्टरको कडा प्रतिस्पर्धा: हितबहादुर तामाङ पछ्याउँदै



नुवाकोट,फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणना रोचक बन्दै गएको छ। सुरुआतमा ककनी र तादी गाउँपालिकाबाट बलियो देखिएको रास्वपाको प्रतिस्पर्धा दुप्चेश्वर गाउँपालिकामा पुगेपछि नेपाली कांग्रेसले अग्रता लिएको थियो। तर मतगणना पञ्चकन्या गाउँपालिकामा प्रवेश गरेसँगै कांग्रेसको मतान्तर केही घटेको देखिएको छ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले रुख चिन्हमा ९ हजार ५ सय ५३ मत प्राप्त गर्दै अग्रस्थान कायम राखेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिनाले घण्टी चिन्हमा ८ हजार ८ सय ७० मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङ तारा चिन्हमा ७ हजार ८ सय १९ मतसहित तेस्रो स्थानमा रहेका छन्।सुरुआती चरणमा ककनी र तादी गाउँपालिकाका केही वडामा प्रतिस्पर्धा कडा देखिएको थियो। दुप्चेश्वर गाउँपालिकाको मतगणनासँगै कांग्रेसले अग्रता बनाएको भए पनि पञ्चकन्या गाउँपालिकाको मतगणना सुरु भएपछि मतान्तर केही घट्दै गएको छ।

स्थानीय राजनीतिक वृत्तमा अब बाँकी रहेका वडाको मतगणनाले प्रतिस्पर्धालाई अझ रोचक बनाउने चर्चा चलिरहेको छ। निर्वाचन कार्यालयका अनुसार नुवाकोट–१ मा मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणामका लागि अझै केही समय कुर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्