नुवाकोट भद्रुटारबाट सबैभन्दा बढी ७४१ मत रास्वपाको घण्टी चिन्हलाई
नुवाकोट, फागुन २४ — नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहँदा पञ्चकन्या गाउँपालिका–५ भद्रुटारले अप्रत्याशित परिणाम दिएको छ। परम्परागत रूपमा नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने भद्रुटारबाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घण्टी चिन्हले उल्लेखनीय मत प्राप्त गरेको छ।
पछिल्लो मतगणनाअनुसार पञ्चकन्या–५ भद्रुटारस्थित बच्छला माध्यमिक विद्यालयका क, ख, ग र घ मतदान केन्द्रबाट रास्वपाले सबैभन्दा बढी ७४१ मत प्राप्त गरेको छ। सोही केन्द्रबाट नेपाली कांग्रेसको रुख चिन्हले ४१६ मत, नेकपाको तारा चिन्हले २७८ मत र एमालेको सूर्य चिन्हले २१४ मत प्राप्त गरेका छन्। त्यसो त पन्चकन्या बाट ४ दलहरुले पाएका मतहरुको मूल्यांकन गर्दा नै रास्वपा अगाडि देखिएको छ। पत्रकार सरोज थपलियाका अनुसार गाउँपालिकामा रास्वपा(घण्टी) ले ३ हजार ४ सय ९७ मत, नेपाली काङ्ग्रेस(रुख)ले २ हजार २ सय ९९ मत, नेपाली कम्युनिस्ट पार्टी (तारा) ले १हजार ७ सय ९ मत र नेकपा एमाले (सुर्य) चिन्हले ६ सय ९० पाएका छन् ।
कांग्रेसको गढ मानिने क्षेत्रबाट यति धेरै मत अन्य पार्टीतर्फ जानुलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। एक स्थानीय नेताका अनुसार पञ्चकन्या–५ मा मात्रै रास्वपाले कांग्रेसको तुलनामा ३२५ मत बढी प्राप्त गरेको छ।
यस परिणामसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. विक्रम तिमिल्सिना मतगणनामा अग्रपंक्तिमा पुगेका छन्। पछिल्लो मतपरिणामअनुसार उनले १२ हजार २ सय ६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले ११ हजार ५ सय ८५ मत हासिल गरेका छन्। दुई प्रतिस्पर्धी बीचको अन्तर ६७५ रहेको छ।
त्यस्तै नेकपाका उम्मेदवार हितबहादुर तामाङले ९ हजार २ सय २१ मत पाएका छन् भने एमालेका बद्री मैनालीले ५ हजार ५ सय ३७ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार नुवाकोट–१ अन्तर्गत अझै लिखु गाउँपालिकाका पाँच वटा वडा, शिवपुरी गाउँपालिका र सूर्यगढी गाउँपालिकाको मतगणना बाँकी रहेको छ। बाँकी क्षेत्रको मतगणनाले अन्तिम परिणामलाई निर्णायक बनाउने भएकाले स्थानीयस्तरमा उत्सुकता झन् बढ्दै गएको छ।

