नुवाकोट–१ मा रातारात फेरियो चुनावी माहोल, कांग्रेसको अग्रता तोड्दै रास्वपा अगाडि
नुवाकोट,फागुन २४ — नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाले रातारात नयाँ मोड लिएको छ। रातभर नेपाली कांग्रेसले बनाएको अग्रता तोड्दै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ।
मतगणनाको पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिना १३ हजार ६ सय ८३ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले ११ हजार ३ सय ४२ मत प्राप्त गरेका छन्। दुई प्रतिस्पर्धी बीचको मतान्तर २३४१ रहेको छ ।
यससँगै नुवाकोट–१ को प्रतिस्पर्धा झन् रोचक बनेको छ। रातभर कांग्रेसले अग्रता कायम राखे पनि पछिल्ला पञ्चकन्या ५ र लिखु १,२ र ३ वडाहरूको मतगणनामा रास्वपाले राम्रो मत ल्याएपछि चुनावी समीकरण फेरिएको हो।
अन्य प्रतिस्पर्धीमध्ये नेकपाका उम्मेदवार हितबहादुर तामाङले ९ हजार २ सय ८३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का बद्री मैनालीले ५ हजार ६ सय २० मत पाएका छन्।
लिखुको बाँकी वडाहरूको मतगणना जारी रहेकाले अन्तिम परिणाम अझै अनिश्चित देखिएको छ। तर पछिल्लो परिणामले नुवाकोट–१ को चुनावी माहोललाई निकै रोमाञ्चक बनाएको छ, जहाँ हरेक मतले परिणाम बदल्ने सम्भावना देखिएको छ।

