नुवाकोट–१ मा रास्वपाको थप अग्रता, डाक्टर तिमल्सिनाको जितको संकेत
नुवाकोट,फागुन २४— नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाले यसपटकको चुनावी परिणाम नयाँ मोडतर्फ संकेत गरिरहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमल्सिना थप अग्रतासहित अगाडि देखिएका छन्, जसले पुराना राजनीतिक दलहरूको परम्परागत समीकरणलाई चुनौती दिएको हो।
हालसम्मको मतगणनामा तिमल्सिनाले १४ हजार ५ सय ३३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले ११ हजार ७ सय २७ मत पाएका छन्। यससँगै दुवैबीचको मतान्तर २ हजार ८ सय ६ पुगेको छ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार हितबहादुर तामाङले ९ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका बद्री मैनालीले ५ हजार ७ सय ३२ मत पाएका छन्। अझै केही पालिकाको मतगणना बाँकी रहे पनि हालसम्मको मतान्तरका आधारमा महतको जित्ने सम्भावना कम हुँदै गएको राजनीतिक विश्लेषण हुन थालेको छ।यद्यपि शिवपुरी र सुर्यगढीका काङ्ग्रेस गढ मानिएको केहि वडाको मतगणना भने हेर्न बाकी नै छ । त्यसो त काङ्ग्रेसको राम्रो वर्चस्व रहेको पञ्चकन्या र लिखुका केहि वडामा अप्रत्याशित न्युन मतले काङ्ग्रेसलाई निराश बनाइसकेको छ ।
विश्लेषकहरूका पछिल्लो अनुमान अनुसार यसपटकको परिणाम केवल नयाँ दलप्रतिको आकर्षण मात्र नभई पुराना दलप्रति बढ्दो असन्तुष्टिको अभिव्यक्ति पनि हो। विकासको गति, नेतृत्वप्रतिको विश्वास र वैकल्पिक राजनीतिक शक्तिको खोजीका कारण मतदाताले रास्वपातर्फ झुकाव देखाएको उनीहरूको भनाइ छ।
विशेषगरी एमाले उम्मेदवार बद्री मैनाली र हितबहादुर तामाङले आफ्नो परम्परागत मत आधार जोगाउन नसक्दा त्यसको ठूलो हिस्सा रास्वपातर्फ मोडिएको प्रारम्भिक विश्लेषणले देखाएको छ। विदुर र बेलकोटगढीसहितका केही क्षेत्रमा एमाले कमजोर देखिँदा त्यहाँको मत रास्वपामा खप्टिएको र त्यसले कांग्रेसलाई पनि दबाबमा पारेको आकलन गरिएको छ। यद्यपि पराजयको संकेत देखिए पनि नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले नुवाकोट–१ मा अपेक्षाकृत सम्मानजनक प्रतिस्पर्धा गरेको स्थानीय विश्लेषकहरूको भनाइ छ।
यस चुनावी परिणामले रास्वपालाई नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने संकेत दिएको छ। अब पार्टीले स्पष्ट नीति, विचार र दीर्घकालीन योजना अघि सार्न सके देशको राजनीतिक र विकास यात्रामा नयाँ अवसर सिर्जना हुन सक्ने अपेक्षा गरिएको छ।

