धादिङका दुवै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, आशिका तामाङ र बोधनारायण श्रेष्ठ विजयी
धादिङ,फागुन २४— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रभावशाली जित हासिल गरेको छ। क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ फराकिलो मतान्तरसहित विजयी हुँदा क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठले प्रतिस्पर्धीलाई पछि पार्दै विजय हासिल गरेका हुन्। यस परिणामले धादिङको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ।
धादिङ–१ : आशिका तामाङको फराकिलो जित
धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमि प्रसाद त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गरे भने नेपाल कम्युनिस्ट पार्टीका राजेन्द्र प्रसाद पाण्डेले १४ हजार ७०९ मत ल्याए।
नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत प्राप्त गरे। अन्य उम्मेदवारमध्ये मंगोल नेशनल अर्गनाइजेसनका सुमन तामाङले ४६८, राष्ट्रिय प्रजातन्त्र पार्टीका गीता प्रसाद आचार्यले ४२५, उज्यालो नेपाल पार्टीका श्यामराजा पाण्डेले २७४ मत पाए।
त्यस्तै स्वतन्त्र उम्मेदवार निरञ्जन संजेलले १७६, श्रम संस्कृति पार्टीका प्रलाद सिलवालले १४७, नेपाल कम्युनिस्ट पार्टी–माओवादीका कुमारबहादुर तामाङले ११६ मत प्राप्त गरे। अन्य स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूले भने न्यून मत प्राप्त गरेका छन्।
धादिङ–२ : बोधनारायण श्रेष्ठको प्रतिस्पर्धात्मक विजय
धादिङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठले २६ हजार १४५ मत प्राप्त गर्दै विजयी भए। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले २० हजार २७९ मत प्राप्त गरे। नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत प्राप्त गरे भने नेपाल कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले ९ हजार ३६ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेश रिजालले १ हजार ५०४ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारमध्ये उज्यालो नेपाल पार्टीका अमिर तामाङले ८८६, स्वतन्त्र उम्मेदवार दीपक अधिकारीले ५०२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोषकुमार तामाङले ४६२ मत प्राप्त गरेका छन्।बाँकी उम्मेदवारहरूले भने सयौँदेखि केही दर्जन मत मात्र पाएका छन्।
नयाँ शक्तिको उदयको संकेत
धादिङका दुवै क्षेत्रमा रास्वपाले जित हासिल गर्नु केवल चुनावी सफलता मात्र नभई स्थानीय राजनीतिक धारामा आएको परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ। परम्परागत रूपमा एमाले, कांग्रेस र अन्य वाम दलको प्रभाव रहेको जिल्लामा यसपटक मतदाताले नयाँ विकल्प रोजेको विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार मतदाताको अपेक्षा, पुराना दलप्रतिको असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको भरोसाले रास्वपाको पक्षमा मत केन्द्रित भएको देखिन्छ। धादिङका दुवै क्षेत्रमा प्राप्त यो जितले आगामी दिनमा जिल्लाको राजनीतिक दिशा र शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

