प्रत्यक्षतर्फ रास्वपाको शतक पार, सरकार गठनतर्फ बलियो अग्रसर



काठमाडौं, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ऐतिहासिक उपलब्धि हासिल गर्दै एक सय सिटको आँकडा पार गरेको छ। पछिल्लो मतपरिणामअनुसार रास्वपाले हालसम्म १०२ स्थानमा विजय हासिल गरेको छ भने थप २३ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाको यो प्रदर्शनले नेपाली राजनीतिमा ठूलो परिवर्तनको संकेत दिएको विश्लेषण भइरहेको छ।

हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले १५ स्थानमा जित हासिल गरेको छ भने दुई क्षेत्रमा अग्रता कायम गरेको छ। नेकपा एमालेले सात स्थानमा विजय प्राप्त गर्दा तीन क्षेत्रमा अग्रता बनाएको छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ६ स्थानमा जित हासिल गरेको छ र एक क्षेत्रमा अग्रता कायम गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले पनि एक–एक स्थानमा जित हासिल गरेका छन्।

यसैबीच समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा भइरहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म २४ लाख ८२ हजार ६१० मत गणना सकिएको छ। समानुपातिकतर्फ पनि रास्वपा स्पष्ट अग्रतामा देखिएको छ। हालसम्म रास्वपाले १२ लाख ५३ हजार ९४७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख २३ हजार ६७४ मत पाएको छ भने नेकपा एमालेले ३ लाख ३६ हजार ५३९ मत प्राप्त गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले १ लाख ६५ हजार १६९ मत ल्याएको छ।

अन्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले ९० हजार ८२५ र श्रम संस्कृति पार्टीले ५० हजार ४९८ मत प्राप्त गरेका छन्। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजाले रास्वपालाई दुई तिहाइ नजिकको शक्तिसहित सरकार गठनको बलियो सम्भावना सिर्जना गरेको विश्लेषण भइरहेको छ। अर्कोतर्फ लामो समयदेखि प्रमुख राजनीतिक शक्तिका रूपमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले भने यसपटक अपेक्षाभन्दा कमजोर अवस्थामा पुगेको टिप्पणी राजनीतिक वृत्तमा सुनिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्