नुवाकोट–१ मा डाक्टर तिमल्सिनाको ३ हजार बढी फराकिलो अग्रता, महत दबाबमा



नुवाकोट,फागुन २४— नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनाले रोचक राजनीतिक चित्र देखाइरहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमल्सिना स्पष्ट अग्रतासहित अघि बढिरहेका छन्।

हालसम्मको गणनामा तिमल्सिनाले १५ हजार १७६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले ११ हजार ९९८ मत ल्याएका छन्। यससँगै तिमल्सिना महतभन्दा ३ हजार १७८ मतले अगाडि रहेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले ९ हजार ३९७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले ५ हजार ९२३ मत ल्याएका छन्।

हालसम्मको परिणामले नुवाकोट–१ मा रास्वपाको पकड बलियो देखिएको विश्लेषण हुन थालेको छ। पछिल्ला केही चरणको मतगणनामा तिमल्सिनाले निरन्तर अग्रता बढाउँदै लगेका कारण कांग्रेसका वरिष्ठ नेता डा. प्रकाशशरण महत दबाबमा परेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक नुवाकोटमा मतदाताले वैकल्पिक राजनीतिक शक्तिप्रति झुकाव देखाएको संकेत देखिएको छ। पुराना दलप्रतिको असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको अपेक्षाले मत रास्वपातर्फ केन्द्रित भएको आकलन गरिएको छ।

अझै केही क्षेत्रको मतगणना बाँकी रहे पनि हालसम्मको मतान्तरले नुवाकोट–१ को प्रतिस्पर्धा रास्वपाको पक्षमा झुक्दै गएको संकेत दिएको छ। हाल लिखु गाउँपालिकाको अन्तिम वडा नम्बर ६ गणना पश्चात् शिवपुरी र सुर्यगढी क्रमश गणना गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख होमबहादुर रानामगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्