नुवाकोट–१ मा डाक्टर तिमल्सिनाको अग्रता कायमै, शिवपुरीका वडामा रास्वपाको उल्लेख्य मत
नुवाकोट,फागुन २४ — नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमल्सिनाले आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार तिमल्सिना २ हजार ८५१ मतले अगाडि रहेका छन्।
हालसम्मको मतगणनामा तिमल्सिनाले १७ हजार ५०९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले १४ हजार ६५८ मत ल्याएका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले ११ हजार १३३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका बद्री मैनालीले ६ हजार ५९५ मत ल्याएका छन्।
अन्य उम्मेदवारमध्ये उज्यालो पार्टीका अमित तामाङले १ हजार ७३२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिमल थापाले ६३० मत पाएका छन्।
हाल मतगणना शिवपुरी गाउँपालिकाको वडा नम्बर ६ मा जारी रहेको छ। यसअघि शिवपुरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मको मतगणनामा रास्वपाले उल्लेख्य मत प्राप्त गर्दै अग्रता बलियो बनाएको बताइएको छ।
अझै शिवपुरी गाउँपालिकाका दुई वडा र सूर्यगढी गाउँपालिकाको मतगणना बाँकी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्नेछ। यद्यपि हालसम्मको मतपरिणामले नुवाकोट–१ मा रास्वपाको पकड बलियो देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।

