सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित, तामाङलाई २,५५३ मतान्तरले पराजित
काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार दुलालले २१ हजार ६९९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी तामाङले १९ हजार १४६ मत ल्याएका छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले १५ हजार ९२६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झलककुमार श्रेष्ठ १४ हजार १९ मतसहित चौथो स्थानमा रहे।
विजयी उम्मेदवार दुलाल यसअघि सिन्धुपाल्चोक–२ को ‘क’ प्रदेशसभा निर्वाचन क्षेत्रबाट दुई पटक प्रदेशसभा सदस्य निर्वाचित भइसकेका नेता हुन्। स्थानीय तहमा सक्रिय राजनीतिक पृष्ठभूमि भएका उनी लामो समयदेखि जिल्लाको राजनीतिमा प्रभावशाली मानिन्छन्।
त्यस्तै उनका प्रतिस्पर्धी वंशलाल तामाङ भने इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष हुन्। चुनावी प्रतिस्पर्धा कडा भए पनि अन्ततः दुलालले मतान्तर कायम गर्दै प्रतिनिधिसभाको यात्रा तय गरेका छन्।

