नुवाकोट–१ मा डा. तिमल्सिनाको अग्रता फराकिलो बन्दै, मतान्तर झण्डै ४ हजार पुग्यो
नुवाकोट,फागुन २४ — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमल्सिना स्पष्ट अग्रतासहित अघि बढिरहेका छन्। हालसम्मको मतपरिणामले यस क्षेत्रमा रास्वपाको पकड बलियो बन्दै गएको संकेत दिएको छ।
पछिल्लो मतगणनाअनुसार तिमल्सिनाले २० हजार २० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशशरण महतले १६ हजार १०९ मत ल्याएका छन्। दुवैबीचको मतान्तर ३ हजार ९११ पुगेको छ।
अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १२ हजार २४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका बद्री मैनालीले ७ हजार ४३५ मत ल्याएका छन्। यससँगै तामाङ रास्वपा उम्मेदवार तिमल्सिनाभन्दा ७ हजार ७८० मतले पछाडि परेका छन् भने एमालेका मैनाली १२ हजार ५८५ मतले पछि रहेका छन्।
हालसम्म नुवाकोट–१ अन्तर्गत ककनी, तादी, दुप्चेश्वर, पञ्चकन्या, लिखु र शिवपुरी गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ। अब सूर्यगढी गाउँपालिकाको मतगणना बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार मतगणनाको अधिकांश भाग सकिँदै जाँदा तिमल्सिनाको अग्रता कायम रहनुले यस क्षेत्रमा नयाँ राजनीतिक शक्तिप्रति मतदाताको झुकाव देखिएको संकेत गर्दछ। यद्यपि बाँकी रहेको सूर्यगढी गाउँपालिकाको मतगणनाले अन्तिम परिणामलाई औपचारिक रूप दिनेछ।

