नुवाकोट–१ मा डा. तिमल्सिनाको अग्रता झन् बलियो, अन्तिम चरणतर्फ मतगणना
नुवाकोट,फागुन २४ — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणतर्फ पुग्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमल्सिना बलियो अग्रतासहित अघि बढिरहेका छन्।
पछिल्लो मतपरिणामअनुसार तिमल्सिनाले २० हजार ३१४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले १६ हजार ९०४ मत ल्याएका छन्। दुवैबीचको मतान्तर ३ हजार २७४ पुगेको छ, जसले प्रतिस्पर्धालाई अझ स्पष्ट बनाएको देखिन्छ।
अन्य प्रतिस्पर्धीमध्ये नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङले १२ हजार ८१५ मत प्राप्त गरेका छन्। उनी रास्वपा उम्मेदवार तिमल्सिनाभन्दा ७ हजार ४९९ मतले पछाडि रहेका छन्। त्यस्तै नेकपा एमालेका बद्री मैनालीले ७ हजार ८१८ मत ल्याएका छन्, जो अग्रता बनाइरहेका तिमल्सिनाभन्दा १२ हजार ४९६ मतले पछि परेका छन्।
हालसम्म नुवाकोट–१ अन्तर्गत ककनी, तादी, दुप्चेश्वर, पञ्चकन्या, लिखु र शिवपुरी गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ। अब सूर्यगढी गाउँपालिकाको अन्तिम वडाको मतगणना मात्र बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणनाको अधिकांश भाग सकिँदै जाँदा तिमल्सिनाको अग्रता कायम रहनुले यस क्षेत्रमा मतदाताले नयाँ राजनीतिक शक्तिप्रति देखाएको झुकावलाई झन् प्रस्ट बनाएको विश्लेषकहरूको भनाइ छ। अन्तिम नतिजा आउन बाँकी भए पनि हालसम्मको मतपरिणामले नुवाकोट–१ मा रास्वपाको विजयी पक्का भैसकेको छ।

