नुवाकोटका दुवै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’, क्षेत्र नम्बर १ मा डाक्टर बिक्रम तिमिल्सिना विजयी
नुवाकोट,फागुन २४— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रभावशाली जित हासिल गरेको छ। क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार डाक्टर बिक्रम तिमिल्सिना फराकिलो मतान्तरसहित विजयी हुँदा क्षेत्र नम्बर २ मा डाक्टर अच्युतम लामिछानेले प्रतिस्पर्धीलाई पछि पार्दै यस अघि नै विजय हासिल गरिसकेका छन् । यस परिणामले नुवाकोटको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ।
नुवाकोट–१ : डाक्टर तिमिल्सिना को फराकिलो जित
नुवाकोट क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार डाक्टर बिक्रम तिमिल्सिनाले २१ हजार १०६ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका डाक्टर प्रकाशशरण महतले १७ हजार ८४४ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले १२ हजार ८९० मत ल्याए।
नेकपा (एमाले) का बद्री मैनालीले ८ हजार २८८ मत प्राप्त गरे। अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र बिमल थापाले ६९७ मत, श्रम संस्कृति पार्टीका दावा तामाङको २४९ मत रहेको छ ।
नुवाकोट–२ : डाक्टर अच्युतम लामिछानेको प्रतिस्पर्धात्मक विजय
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार अच्युतम लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भए। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशश्वर नरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गरे।
नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत प्राप्त गरे भने नेपाल कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत ल्याए।
नयाँ शक्तिको उदयको संकेत
नुवाकोटका दुवै क्षेत्रमा रास्वपाले जित हासिल गर्नु केवल चुनावी सफलता मात्र नभई स्थानीय राजनीतिक धारामा आएको परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ। परम्परागत रूपमा एमाले, कांग्रेस र अन्य वाम दलको प्रभाव रहेको जिल्लामा यसपटक मतदाताले नयाँ विकल्प रोजेको विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार मतदाताको अपेक्षा, पुराना दलप्रतिको असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको भरोसाले रास्वपाको पक्षमा मत केन्द्रित भएको देखिन्छ। नुवाकोटका दुवै क्षेत्रमा प्राप्त यो जितले आगामी दिनमा जिल्लाको राजनीतिक दिशा र शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

