मत परिणामपछि हितबहादुर तामाङको भावुक सन्देश : “नैतिक रूपमा हाम्रो विजय भएको छ”
नुवाकोट,फागुन २४ — प्रतिनिधिसभा निर्वाचन २०८२ को मत परिणाम सार्वजनिक भएसँगै नुवाकोट क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हितबहादुर तामाङले सामाजिक सञ्जालमार्फत मतदाता र समर्थकप्रति आभार व्यक्त गरेका छन्।
आइतबार बेलुकी फेसबुकमा लामो स्टाटस लेख्दै तामाङले निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्दै आफूलाई विश्वास गरेर साथ दिने सबै मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन्। उनले विगतमा निर्वाचित जनप्रतिनिधिका रूपमा काम गर्दा स्रोत–साधन सीमित भए पनि जनताप्रतिको जिम्मेवारीलाई सधैं इमानदारीका साथ पूरा गर्ने प्रयास गरेको बताएका छन्।
तामाङले तीन दशकको अवधिमा अरूले आँट नगरेका धेरै अधुरा सपना र विकासका कामलाई अघि बढाउन आफूले भूमिका खेलेको दाबी पनि गरेका छन्। राजनीतिलाई उनले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्धिको माध्यमका रूपमा लिएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध आफूले व्यवहारमै उदाहरण प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन्।
निर्वाचन अभियानका क्रममा मतदाताले देखाएको साथ र विश्वासलाई उनले विशेष रूपमा स्मरण गरेका छन्। कतिपय मतदाताले आफ्नै बचतबाट हजारौँ रुपैयाँ चुनाव खर्च भन्दै सहयोग गरेको प्रसंग उल्लेख गर्दै तामाङले त्यो सहयोग आफ्नो इमानप्रतिको विश्वास भएको बताएका छन्। शिक्षक, कर्मचारी, साना व्यवसायी तथा युवा स्वयंसेवकहरूले गरेको सहयोग र साथलाई उनले जीवनभर सम्झिरहने बताएका छन्।
तामाङले संख्यात्मक परिणाम जे आए पनि नैतिक रूपमा आफूहरूको अभियान सफल भएको उल्लेख गरेका छन्। उनले आफूले प्राप्त गरेको प्रत्येक मत कुनै प्रलोभन वा स्वार्थबिना प्राप्त भएको ‘विशुद्ध आत्मदान’ भएको बताएका छन्।
यसैबीच उनले नुवाकोट–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. विक्रम तिमल्सिनालाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्। तिमल्सिनाको नेतृत्वमा नुवाकोटको विकासले नयाँ गति लिने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।
पदमा रहँदा वा नरहँदा पनि नुवाकोटको विकास र जनताको सुखदुःखमा आफू सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्दै तामाङले आफ्नो जनसेवाको यात्रा नरोकिने बताएका छन्। उनले आगामी दिनमा अझ परिष्कृत र दृढ भएर जनताको सेवामा समर्पित रहने उल्लेख गरेका छन्।

