नुवाकोटका दुवै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय, क्षेत्र नं. १ मा तिमल्सिना विजयी



काठमाडौं,फागुन २५— नुवाकोटका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक विजय हासिल गरेको छ। प्राप्त मतपरिणामअनुसार नुवाकोट क्षेत्र नम्बर १ मा रास्वपाका डा. विक्रम तिमल्सिना २२ हजार ६०९ मतसहित निर्वाचित भएका हुन।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १८ हजार ६११ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ४०३ मत ल्याएका छन् भने नेकपा एमालेका बद्री मैनालीले ८ हजार ७२१ मत प्राप्त गरेका छन्।

यस परिणामसँगै नुवाकोट–१ मा लामो समयदेखि कायम रहेको कांग्रेस र माओवादी केन्द्रको परम्परागत प्रभाव तोड्दै रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको विश्लेषण गरिएको छ। आइतबार साँझ विजयपछि रास्वपाका नेता–कार्यकर्ताले नुवाकोटको खरानीटारमा विजय उत्सव मनाएका थिए स्थानीय तहका विभिन्न स्थानबाट समर्थकहरू भेला भएर जीतको खुशीयाली साटेका थिए।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट–१ बाट तत्कालीन माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए भने नुवाकोट–२ बाट नेपाली कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित भएका थिए। तर यसपटक भने तामाङ र केसीले उक्त क्षेत्र जोगाउन नसकेको देखिएको छ।

नुवाकोटका दुवै क्षेत्रमा रास्वपाले जित हासिल गरेसँगै जिल्लाको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। नयाँ राजनीतिक शक्तिको उदयसँगै पुराना दलहरूको प्रभाव घट्दै गएको संकेत यस परिणामले दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्