लुम्बिनीमा रास्वपाको वर्चस्व : २६ मध्ये २१ क्षेत्रमा विजय
काठमाडौं,फागुन २५— प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदै जाँदा लुम्बिनी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेखनीय वर्चस्व देखिएको छ। प्रदेशका १२ जिल्लामा रहेका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस र नेकपाले दुई–दुई क्षेत्रमा जित हासिल गरेका छन् भने नेकपा (एमाले) ले एक क्षेत्रमा मात्र विजय प्राप्त गरेको छ।
रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हात पारेको छ। रुपन्देही–१ मा सुनिल लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा डा. लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान निर्वाचित भएका छन्।
पश्चिम नवलपरासी–१ मा रास्वपाका विक्रम खनाल तथा पश्चिम नवलपरासी–२ मा नरेन्द्रकुमार गुप्ता विजयी भएका छन्। कपिलवस्तु–१ मा मोहनलाल आचार्य र कपिलवस्तु–२ मा विक्रमसिंह थापा निर्वाचित हुँदा कपिलवस्तु–३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी भएका छन्।
दाङका तीनै क्षेत्रमा रास्वपाको पकड देखिएको छ। दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपीनकुमार आचार्य र दाङ–३ मा कमल सुवेदी निर्वाचित भएका छन्। गुल्मी–१ मा सागर ढकाल र गुल्मी–२ मा गोविन्द पन्थी विजयी भएका छन्।
त्यस्तै बर्दिया–१ मा ठाकुरसिंह थारु र बर्दिया–२ मा श्रीधर पोखरेल रास्वपाबाट निर्वाचित भएका छन्। बाँके–१ मा सुरेशकुमार चौधरी र बाँके–३ मा खगेन्द्र सुनार विजयी हुँदा बाँके–२ मा भने नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई निर्वाचित भएका छन्।
रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा रोल्पामा वर्षमान पुन निर्वाचित भएका छन्। प्यूठानमा रास्वपाका सुशान्त बैदिक विजयी भएका छन्। पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना निर्वाचित हुँदा पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा विजयी भएका छन्। अर्घाखाँचीमा पनि रास्वपाका हरिप्रसाद भुसाल निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा रास्वपाको विजयसँगै प्रदेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको विश्लेषण गरिएको छ। नयाँ राजनीतिक शक्तिको उदयले परम्परागत दलहरूको प्रभावलाई चुनौती दिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

