प्रतिनिधिसभा मतगणना अन्तिम चरणमा : रास्वपाको स्पष्ट वर्चस्व



काठमाडौं,फागुन २५— प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ भने १६१ क्षेत्रको आधिकारिक परिणाम घोषणा गरिएको छ।हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ सिट जित्दै प्रतिनिधिसभामा स्पष्ट वर्चस्व कायम गरेको छ। आइतबार राति ११ बजेसम्मको विवरणअनुसार रास्वपा थप एक क्षेत्रमा अग्रतामा रहेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ र एक क्षेत्रमा अग्रता लिइरहेको छ। नेकपा (एमाले) ले आठ सिटमा विजय हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता बनाएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात सिट जितेको छ। श्रम संस्कृति पार्टीले तीन सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेको छ भने एक स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।

समानुपातिकतर्फ पनि रास्वपा ठूलो मतान्तरसहित अग्रस्थानमा रहेको छ। हालसम्म ६३ लाख १८ हजार ५५७ मत गणना हुँदा रास्वपाले ३० लाख ८८ हजार ४५५ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १० लाख ४२ हजार १७१ मत पाएको छ भने नेकपा (एमाले) ले ८ लाख ९२ हजार ७१२ मत प्राप्त गरेको छ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ४ लाख ३८ हजार ६२ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख २० हजार ५६९ र श्रम संस्कृति पार्टीले १ लाख ७६ हजार ३४९ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनाले समानुपातिकतर्फ पनि छ दल मात्र थ्रेसहोल्ड कटाउने अवस्थामा देखिएका छन्। अन्य दलहरूले आवश्यक तीन प्रतिशत मत प्राप्त गर्ने सम्भावना कम देखिएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्