नुवाकोट–१ को परिणामबारे डा. प्रकाशशरण महतको प्रतिक्रिया : सामाजिक संजालको प्रभाव
काठमाडौं ,फागुन २५— नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मतदाताप्रति आभार व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महतले यसपटकको आम निर्वाचनमा देखिएको अस्वाभाविक परिणामका पछाडि स्थापित राजनीतिक दलहरूप्रति मतदाताको असन्तुष्टि, सामाजिक सञ्जालको प्रभाव तथा भदौ २३ गतेको घटनालगायत विभिन्न कारण रहेको उल्लेख गरेका छन्।
उनले उक्त प्रभावबाट नेपाली कांग्रेस पनि अछुतो नरहेको बताउँदै नुवाकोट–१ मा पनि त्यसको असर देखिएको बताएका छन्। प्रतिकूल परिस्थितिका बाबजुद पनि आफू र पार्टीलाई विश्वास गरेर प्रतिस्पर्धी मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्।
महतले निर्वाचन प्रचार–प्रसारका क्रममा अहोरात्र खटिएका पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि क्षेत्रको विकास र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।
यसैबीच उनले नुवाकोट–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. विक्रम तिमिल्सिनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना पनि दिएका छन्।

