नुवाकोट–१ बाट निर्वाचित तिमल्सिनाको धन्यवाद सन्देश : “यो जित जनताको आशा र परिवर्तनको चाहना हो”
नुवाकोट,फागुन २५— नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. विक्रम तिमल्सिनाले मतदाता तथा समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत धन्यवाद सन्देश जारी गर्दै तिमल्सिनाले आफूलाई दिएको विश्वास, प्रेम र समर्थनका लागि नुवाकोट–१ का सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन्।
उनले आफ्नो विजय व्यक्तिगत नभई नुवाकोट–१ का जनताको आशा, भरोसा र सकारात्मक राजनीतिक परिवर्तनप्रतिको चाहनाको जित भएको बताएका छन्। साथै युवापुस्ताको साहस र योगदानले यो सफलता सम्भव भएको उल्लेख गरेका छन्।
निर्वाचन अभियानका क्रममा गाउँ–गाउँमा पुग्दा मतदाताको आशा, संघर्ष र भविष्यप्रतिको विश्वासलाई नजिकबाट अनुभूति गरेको उल्लेख गर्दै तिमल्सिनाले उक्त विश्वास आफ्नो लागि ठूलो जिम्मेवारी भएको बताएका छन्।
उनले नुवाकोटको विकास, किसानको अधिकार, युवाका लागि अवसर, श्रमिकको सुरक्षा, सुशासन र समावेशी समाज निर्माणका विषयमा संसदमा जनताको आवाज बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।अभियानमा साथ दिने मतदाता, समर्थक, अभियानकर्मी तथा शुभेच्छुक सबैप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा नुवाकोटको उज्यालो भविष्य निर्माणका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

