बालेन्द्र शाहले सार्वजनिक गरे चुनावी खर्च, कुल १४ लाख १७ हजार खर्च



काठमाडौं, फागुन २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार शाहले चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

उनले पेश गरेको खर्च विवरणमा सवारी साधन भाडादेखि प्रचार–प्रसार सामग्री छपाइसम्मका विभिन्न शीर्षक समावेश छन्। विवरणअनुसार १५ दिनसम्म दुई वटा सवारी साधन प्रयोग गर्दा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको छ, जसमा इन्धन खर्चसमेत समावेश गरिएको छ।त्यसैगरी हवाई भाडामा ३५ हजार रुपैयाँ, खाजा खर्चमा २८ हजार रुपैयाँ तथा वडा स्तरमा १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

नमुना मतपत्र छपाइमा ४९ हजार रुपैयाँ, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख २० हजार रुपैयाँ र स्टेशनरी खर्चमा २२ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। प्रचार सामग्रीतर्फ फ्लेक्स र ब्यानर छपाइमा १ लाख ५७ हजार रुपैयाँ तथा ब्यानर र स्टिकरमा थप १ लाख १९ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्