खोलामा डुबेर युवकको मृत्यु



गुल्मी, फागुन २५ — माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार मुसिकोट नगरपालिका–१ अरेवा निवासी २१ वर्षीय दीपजन दर्लामीको डुबेर मृत्यु भएको हो।सोमबार बिहान मुसिकोट नगरपालिका–१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दीपजन आफ्नै गाउँका ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर आइतबार राति बडिगाड खोलातर्फ गएका थिए। दीपजन डुबेपछि डम्बर घर फर्केर स्थानीयवासी तथा प्रहरीलाई जानकारी गराएका थिए।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको सूचना अधिकारी सारुले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्