प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको उदय : १२५ सिटसहित देशभर ३९ जिल्ला ‘क्लिन स्वीप’
काठमाडौं,फागुन २५ — हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहजनक नतिजा हासिल गर्दै नेपाली राजनीतिको प्रमुख शक्तिका रूपमा उदाएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२५ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। समानुपातिकतर्फ पनि उल्लेखनीय मत प्राप्त गर्दै रास्वपा दुईतिहाइ नजिक पुगेको छ।
निर्वाचन परिणामअनुसार रास्वपाले देशका ३९ जिल्लाका सबै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको छ। कोशी प्रदेशका झापा र मोरङ, मधेस प्रदेशका सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्साका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्।
त्यसैगरी बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, मकवानपुर र चितवनमा पनि रास्वपाले सबै सिट जितेको छ। गण्डकी प्रदेशका तनहुँ, कास्की, बागलुङ र नवलपरासी (पूर्व) मा तथा लुम्बिनी प्रदेशका नवलपरासी (पश्चिम), रुपन्देही, दाङ र बर्दियामा पनि रास्वपाले सबै निर्वाचन क्षेत्र आफ्नो पक्षमा पारेको छ।
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा समेत रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ। काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा जित हासिल गर्दै राजधानी क्षेत्रमा पनि रास्वपाले बलियो उपस्थिति देखाएको छ। ललितपुरका तीनै र भक्तपुरका दुवै क्षेत्रमा पनि रास्वपा विजयी भएको छ।
यसैगरी चितवनका तीनै, तनहुँका दुई, कास्कीका तीन, बागलुङका दुई, नवलपरासी (पूर्व) का दुई, नवलपरासी (पश्चिम) का दुई तथा रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्। दाङका तीनै, बर्दियाका दुई, कैलालीका पाँचै र कञ्चनपुरका तीनै क्षेत्रमा पनि रास्वपाले विजय हासिल गरेको छ।
दुई-दुई निर्वाचन क्षेत्र रहेका उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, स्याङ्जा, नुवाकोट र गोरखामा पनि रास्वपाले सबै सिट जितेको छ। त्यस्तै एक मात्र निर्वाचन क्षेत्र रहेका ओखलढुङ्गा, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, डडेल्धुरा र बैतडीमा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्।
यस नतिजासँगै रास्वपाले देशभर नयाँ राजनीतिक शक्ति र जनमतको ठूलो समर्थन पाएको संकेत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

