प्रतिनिधिसभा निर्वाचन २०८२ : रास्वपाको ऐतिहासिक जनादेश, बने अनेक रेकर्ड
काठमाडौं ,फागुन २५— जेन–जी आन्दोलनको पृष्ठभूमिमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अभूतपूर्व जनादेश दिएको छ। प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा उच्च मत प्राप्त गर्दै रास्वपा दुईतिहाइ बहुमतको नजिक पुगेको छ।
निर्वाचन आयोगको प्रारम्भिक परिणामअनुसार प्रत्यक्षतर्फका १६५ सिटमध्ये रास्वपाले १२५ सिट जितेको छ, जुन करिब ७६ प्रतिशत हो। संसदीय निर्वाचनको इतिहासमा कुनै एक दलले प्रत्यक्षतर्फ यति धेरै सिट जितेको यो पहिलोपटक हो।
यसअघि २०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ सिटमध्ये ७४ सिट जित्दै करिब ६८ प्रतिशत सफलता हासिल गरेको थियो। २०४८ सालको निर्वाचनमा कांग्रेसले २०५ मध्ये ११० सिट जितेको थियो भने २०५६ सालमा १११ सिट जितेको थियो। २०६४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादीले २४० सिटमध्ये १२० सिट जित्दै करिब ५० प्रतिशत सफलता प्राप्त गरेको थियो। त्यसपछि भएका निर्वाचनहरूमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन्।
समानुपातिकतर्फ पनि रास्वपाले ऐतिहासिक मत प्राप्त गरेको छ। हालसम्म करिब ९५ लाख मत गणना हुँदा रास्वपाले ४६ लाखभन्दा बढी मत प्राप्त गरेको छ, जुन करिब ४८ प्रतिशतभन्दा बढी हो।
यस निर्वाचनमा व्यक्तिगत मतको नयाँ रेकर्ड पनि बनेको छ। झापा–५ बाट रास्वपाका उम्मेदवार बालेन्द्र शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै हालसम्मकै सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार बनेका छन्।
त्यस्तै रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग थापाले कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गर्दै सर्वाधिक मतान्तरको नयाँ रेकर्ड कायम गरेका छन्। यसअघि २०८० को उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछानेले ४२ हजार ९६२ मतान्तरले जितेका थिए भने २०६४ को निर्वाचनमा बाबुराम भट्टराईले ४० हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका थिए।
यसपटक मतदान प्रतिशत भने अपेक्षाकृत कम देखिएको छ। निर्वाचन आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६७८ मतदातामध्ये करिब ५८ प्रतिशत अर्थात् १ करोड ९ लाख ७७ हजारभन्दा बढीले मात्र मतदान गरेका छन्।
निर्वाचन परिणामसँगै जेन–जी आन्दोलनपछि उदाएको श्रम संस्कृति पार्टी पनि राष्ट्रिय दल बन्ने निश्चित भएको छ। यसपटक संसदमा कुल ६ दलले राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार जनताले रास्वपालाई दिएको व्यापक समर्थन सुशासन र समृद्धिको अपेक्षासँग जोडिएको छ। यो परिणामले नयाँ राजनीतिक शक्तिलाई प्रभावकारी काम गरेर जनविश्वास कायम गर्नुपर्ने ठूलो जिम्मेवारी पनि दिएको विश्लेषण गरिएको छ।

