रसुवामा ९ उम्मेदवारको धरौटी जफत



रसुवा, फागुन २६ — प्रतिनिधिसभा सदस्य निर्वाचनपछि रसुवा जिल्लामा उम्मेदवारी दिएका नौ जनाको धरौटी जफत भएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा आवश्यक मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको हो।

मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमध्ये छ जना विभिन्न राजनीतिक दलका उम्मेदवार र तीन जना स्वतन्त्र उम्मेदवार रहेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

धरौटी जफत हुने उम्मेदवारहरूमा नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीका दावा मिङ्मर तामाङ र नेकपा माओवादी (विप्लव)का होमप्रसाद आचार्य रहेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवारतर्फ चित्रकुमारी देवकोटा, मिङ्मर तामाङ र सागर लामा पनि आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए।नियमअनुसार पुरुष उम्मेदवारले १० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ भने महिला उम्मेदवारका लागि उक्त रकम ५० प्रतिशत कम अर्थात् पाँच हजार रुपैयाँ हुन्छ। सोही अनुसार रसुवाबाट महिला उम्मेदवार चित्रकुमारी देवकोटाको पाँच हजार रुपैयाँ र अन्य पुरुष उम्मेदवारहरूको गरी जम्मा ९५ हजार रुपैयाँ राज्यकोषमा जाने भएको छ।

यस निर्वाचनमा रसुवाबाट नौ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी कुल १२ जनाले उम्मेदवारी दिएका थिए। जसमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका थिए। रास्वपाका वसन्त भट्ट र नेकपा एमालेका प्रेम तामाङले भने आवश्यक मत प्राप्त गरेकाले धरौटी फिर्ता पाउने भएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन ऐनअनुसार सबै उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ। सोही अनुरूप सबै दल तथा स्वतन्त्र उम्मेदवारलाई खर्च विवरण बुझाउन पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्