नुवाकोटमा रास्वपाको प्रभाव बढ्दो : समानुपातिकमा अग्रता, प्रत्यक्षमा ५४ हजारभन्दा बढी मत
नुवाकोट,फागुन २६ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय मत प्राप्त गर्दै आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ। समानुपातिकतर्फ सार्वजनिक अन्तिम मतपरिणामले जिल्लाको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको छ।
नुवाकोट क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ रास्वपाले २४ हजार ७६१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेसले १५ हजार ६०५ मत प्राप्त गरी दोस्रो स्थानमा रहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) ले समान १० हजार ६८१ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार ७४१ मत पाएको छ।
यस्तै नुवाकोट क्षेत्र नम्बर २ मा पनि रास्वपाले उल्लेखनीय मत प्राप्त गरेको छ। उक्त क्षेत्रमा रास्वपाले ३२ हजार ६८६ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १४ हजार ५७७ मत पाउँदा नेकपाले ५ हजार ९४३ मत र नेकपा (एमाले) ले ७ हजार ८८५ मत प्राप्त गरेका छन्। राप्रपाले भने ३ हजार ८१ मत पाएको छ।
दुवै क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले अग्रता कायम गरेसँगै नुवाकोटमा नयाँ राजनीतिक शक्तिको उदय भएको संकेत देखिएको छ। विशेषगरी युवामाझ परिवर्तनको अपेक्षासँगै रास्वपाप्रति आकर्षण बढेको विश्लेषण गरिएको छ।
यता प्रत्यक्षतर्फ पनि रास्वपाले उल्लेखनीय मत प्राप्त गरेको छ। दुवै क्षेत्र जोडेर रास्वपाले कुल ५४ हजार ६६३ मत पाएको तथ्यांक सार्वजनिक भएको छ।
समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा प्राप्त मतले नुवाकोटको राजनीतिक परिदृश्यमा आगामी दिनमा नयाँ समीकरण बन्ने संकेत गरेको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्।

