नुवाकोटमा झण्डै ७ हजार मत बदर, मतदाता शिक्षा प्रभावकारी नभएको टिप्पणी
नुवाकोट,फागुन २६ — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट जिल्लामा झण्डै सात हजार मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार दुवै निर्वाचन क्षेत्रमा बदर मतको संख्या उल्लेख्य देखिएको हो।
जिल्लामा दुई निर्वाचन क्षेत्रमा गरी कुल १ लाख ४१ हजार ४९२ मत खसेको थियो। तीमध्ये ६ हजार ७२४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसअनुसार नुवाकोटमा कुल १ लाख ३४ हजार ७६८ मत मात्र सदर भएको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिए।
उहाँका अनुसार कुल खसेको मतमध्ये बदर मतको प्रतिशत ४ दशमलव ७५ प्रतिशत रहेको छ। नुवाकोट क्षेत्र नम्बर १ मा कुल १ लाख २३ हजार ९२९ मतदाता रहेकोमा ७१ हजार ४० मत खसेको थियो। त्यसमध्ये ६७ हजार ७६० मत सदर भएको छ भने करिब ५ दशमलव २९ प्रतिशत मत बदर भएको छ।
त्यस्तै नुवाकोट क्षेत्र नम्बर २ मा १ लाख २३ हजार ९३९ मतदातामध्ये ७० हजार ४५२ मत खसेको थियो। सो क्षेत्रमा ६७ हजार ९० मत सदर भएको छ भने ३ हजार ३६२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन पर्यवेक्षकहरूका अनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा बदर मतको संख्या बढेको देखिएको छ। मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा स्वस्तिक छाप लगाउने, छाप उचित स्थानमा नलगाउने, चुनाव चिन्हभन्दा बाहिर छाप लाग्ने, एकभन्दा बढी चिन्हमा छाप लगाउने वा छाप नै नलगाउने जस्ता कारणले मत बदर भएको पाइएको छ।
मतदातामाझ प्रभावकारी रूपमा मतदाता शिक्षा नपुगेका कारण बदर मतको संख्या बढेको हुन सक्ने विश्लेषण गरिएको छ। आगामी निर्वाचनमा यस्ता समस्या कम गर्न मतदाता शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने आवश्यकता देखिएको सरोकारवालाहरूले बताएका छन्।

