वायु प्रदूषण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं,फागुन २६ — पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा सूक्ष्म धुलोका हानिकारक कणको मात्रा निकै बढेको छ। श्वासप्रश्वास र छालामार्फत शरीरभित्र प्रवेश गर्ने यस्ता सूक्ष्म कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने उहाँले बताउनुभयो।प्रदूषणका कारण ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका तथा दीर्घरोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ।यस्ता कणहरूले आँखा दुख्ने, आँखा पाक्ने र दृष्टिमा समस्या आउनेजस्ता सामान्य असर मात्र नभई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग तथा क्यान्सरसम्म गराउन सक्ने चेतावनी दिइएको छ।

प्रदूषणबाट जोगिन विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन मन्त्रालयले सुझाव दिएको छ। उक्त समयमा हानिकारक कणहरू वायुमण्डलको तल्लो तहमा बढी जम्मा हुने भएकाले मर्निङ वाक वा इभिनिङ वाक नगर्न आग्रह गरिएको छ। बाहिर निस्कनै पर्ने अवस्थामा मास्क प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन तथा शरीर ढाकिने कपडा र टोपी प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ।

वायु प्रदूषण न्यूनीकरणका लागि मन्त्रालयले उद्योग, भौतिक पूर्वाधार, कृषि, वन तथा वातावरणसम्बन्धी निकायहरूसँग समन्वय गर्दै छलफल भइरहेको जनाएको छ। सवारी साधनको धुवाँ, उद्योग–कलकारखाना, कृषिमा विषादीको प्रयोग, जथाभावी फोहोर तथा प्लास्टिक जलाउने कार्य र वन डढेलो नियन्त्रण नगरेसम्म प्रदूषण समस्या समाधान नहुने भन्दै मन्त्रालयले यस्ता गतिविधि रोक्न सबै पक्षलाई जिम्मेवार बन्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्