किशोरीको बलात्कारपछि हत्या आरोपमा चार किशोर पक्राउ



काठमाडौं,फागुन २६ — कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा चार किशोर पक्राउ परेका छन्।

वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा विकको बलात्कारपछि हत्या गरिएको आशंकामा चार जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पक्राउ परेका सबै किशोर १८ वर्षमुनिका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुधीर शाहीका अनुसार घटना फागुन २३ गते भएको हो। सोही दिन बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा इनिशा बेहोस अवस्थामा फेला परेकी थिइन्। स्थानीयको सहयोगमा उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो।

तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बिहान घरबाट निस्केकी उनी केही समयपछि वन क्षेत्रमा अचेत अवस्थामा भेटिएकी थिइन्।

घटनापछि परिवार तथा आफन्तले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। प्रहरीका अनुसार घटनाकै दिन एक जना किशोर पक्राउ परेका थिए भने थप तीन जनालाई मंगलबार नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरी उपरीक्षक शाहीका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविक कारण र निष्कर्ष स्पष्ट हुने बताइएको छ।

स्थानीय स्तरमा यो घटनाले ठूलो चिन्ता र आक्रोश पैदा गरेको छ। किशोरीको मृत्युले वीरेन्द्रनगर क्षेत्र शोकाकुल बनेको छ भने दोषीलाई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्