समानुपातिक मतगणना अन्तिम चरणमा : ६ दल राष्ट्रिय पार्टी बन्ने निश्चित
काठमाडौं, फागुन २६ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ। मतगणना उत्तरार्धमा पुगेसँगै गणनाको गति केही सुस्त बनेको निर्वाचन आयोगले जनाएको छ।
हालसम्मको मतपरिणाम अनुसार ६ वटा दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ। ती दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म कुल १ करोड ४ लाख ९५ हजार २१८ मत गणना भइसकेको छ। जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५० लाख ३३ हजार ६९१ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ।
त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ५ हजार २०४ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख २१ हजार २६२ मत ल्याएको छ। नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ७५ हजार ५३ मत प्राप्त गरेको छ।
यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ६२ हजार १७४ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २६ हजार १७४ मत ल्याएको छ।मतगणना अन्तिम चरणतर्फ पुगेकाले केही समयमै समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।

