शून्य खर्चमा चुनाव लडेका नुवाकोटका डङ्गोल भन्छन् : ‘राजनीतिमा पैसाको प्रभाव घटाउनुपर्छ’



नुवाकोट,फागुन २६— प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रबिन्द्र डङ्गोलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

डङ्गोलले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै निर्वाचन अवधिभर आफूले शून्य रुपैयाँ खर्च गरेको उल्लेख गरेका हुन्।

उनले चुनावमा अनावश्यक खर्च गर्ने पुजीवादी प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई कम गर्न सन्देश दिन आफूले कुनै खर्च नगरी चुनाव लडेको बताएका छन्। “राजनीतिमा पैसाको प्रभाव घटाउनुपर्छ भन्ने सन्देश दिन मैले खर्च नगरी चुनाव लडें,आवश्यक मनोनयन खर्च पार्टीले ब्यहोर्यो” उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

डङ्गोलले निर्वाचनमा आफूलाई माया, सद्भाव र समर्थन जनाउँदै मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका छन्। यस निर्वाचनमा उनले ५० मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फ नुवाकोट क्षेत्र नम्बर १ मा ८३ मत पाएको छ ।

डङ्गोल यस क्षेत्रबाट यसअघि पनि निर्वाचनमा उम्मेदवार बनेका थिए। सीमित स्रोतसाधनका बीच चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले चुनावी खर्च पारदर्शी बनाउने र पैसामुखी राजनीति घटाउने सन्देश दिन खोजेको बताएका छन्।

नेपालको चुनावी राजनीति महँगो बन्दै गएको चर्चा भइरहेका बेला शून्य खर्चमा चुनाव लडेको उनको घोषणा सामाजिक सञ्जालमा चर्चा र बहसको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्