नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महत भन्छन् – ‘निर्वाचन परिणामबारे अनावश्यक टिप्पणी नगरौं’



नुवाकोट,फागुन २७— प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न तर्क–वितर्क भइरहेका बेला नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले निर्वाचन परिणामलाई लिएर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले निर्वाचन आवधिक प्रक्रिया भएकाले यसको परिणामलाई लिएर अत्यधिक प्रतिक्रिया जनाउनु आवश्यक नरहेको बताएका छन्। उनले मुलुकमा विकसित राजनीतिक घटनाक्रम र निर्वाचन परिणामबारे आम नागरिक जानकार रहेकाले एक–अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति उपयुक्त नहुने उल्लेख गरेका छन्।

महतका अनुसार भदौ २३ गते युवा पुस्ताको जायज मागसँगै सुरु भएको आन्दोलनले पछि हिंसात्मक मोड लिएको थियो। त्यसपछि भदौ २३ को साँझ र २४ गते भएका चरम हिंसात्मक घटनाले मुलुकलाई अन्तरिम सरकार र निर्वाचनतर्फ जानुपर्ने परिस्थिति सिर्जना भएको उनको भनाइ छ।

उनले हाल सम्पन्न निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानलाई जोगाउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यसलाई मुलुकका लागि ठूलो उपलब्धि भएको बताएका छन्।

महतले लोकतान्त्रिक पद्धतिमा कुन दल अगाडि र कुन दल पछाडि भन्ने विषयभन्दा पनि सबै राजनीतिक दलले आफ्नो आत्ममूल्यांकन गर्नु आवश्यक रहेको बताए। निर्वाचनबाट विजय हासिल गर्ने शक्तिले जनताको हितमा शासन सञ्चालन गर्नुपर्ने र प्रतिपक्षमा रहने दलले संसदमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ।

उनले निर्वाचनमा अपेक्षाभन्दा कम मत प्राप्त गरेका दलहरूले पनि आफ्ना कमजोरी सुधार गर्दै भविष्यमा अझ सशक्त बन्ने अवसरका रूपमा परिणामलाई लिनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्