कतै झिनो मतान्तर, कतै फराकिलो जित : प्रतिनिधिसभा निर्वाचनका रोचक परिणाम



काठमाडौं, फागुन २७ — प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै कतै झिनो मतान्तरमा जित–हार देखिएको छ भने कतै फराकिलो अन्तरले उम्मेदवारहरू विजयी भएका छन्।

सबैभन्दा कम मतान्तरले विजयी हुने उम्मेदवार ओखलढुङ्गाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल बनेका छन्। उनले नेपाली कांग्रेसका कुमार लुइँटेललाई मात्र पाँच मतले पराजित गर्दै १३ हजार ९५३ मतसहित विजयी भएका हुन्। लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका थिए।

त्यस्तै अछाम–१ मा नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ५२६ मतले नेकपाका भीमबहादुर रावललाई पराजित गरे। डोटीमा कांग्रेसका भरतबहादुर खड्काले ७८७ मतले नेकपा एमालेका दीपकबहादुर धामीलाई हराए भने बाजुरामा कांग्रेसका जनकराज गिरीले ५४० मतले एमालेका लालबहादुर थापालाई पराजित गरे।

गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीले ५६१ मतले एमालेका गोकर्ण विष्टलाई हराए। दैलेख–१ मा कांग्रेसकी बासना थापाले ५७६ मतले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गरिन् भने बाग्लुङ–२ मा रास्वपाका सोम शर्माले ७७९ मतले कांग्रेसका टेकराज पौडेललाई हराए।

यता केही निर्वाचन क्षेत्रमा भने फराकिलो मतान्तरले उम्मेदवारहरू विजयी भएका छन्। झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै ६८ हजार ३४८ मतसहित विजयी भएका छन्।

चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत मात्र प्राप्त गरिन्। त्यस्तै झापा–२ मा इन्दिरा रानामगरले ४८ हजार ७४२ मतान्तरले देवराज घिमिरेलाई पराजित गरिन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामको विश्लेषण गर्दा फराकिलो मतान्तरले विजयी हुने अधिकांश उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका रहेको देखिएको छ भने तीसँग पराजित हुनेमा प्रायः नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्