नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि सात कम्पनी छनोट, चैतदेखि आर्थिक मूल्याङ्कन



काठमाडौं, फागुन २७ — बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि आवेदन दिएका १० कम्पनीमध्ये प्राविधिक मूल्याङ्कनपछि सात कम्पनी छनोट भएका छन्।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका अनुसार छनोट भएका कम्पनीहरूको अब आर्थिक मूल्याङ्कन प्रक्रिया सुरु गरिनेछ। गत कात्तिक १६ गते आह्वान गरिएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमा छ चिनियाँ, तीन भारतीय र एक टर्की कम्पनीले आवेदन दिएका थिए। तीमध्ये मापदण्ड पूरा गर्न नसक्ने तीन कम्पनी छनोट प्रक्रियाबाट बाहिरिएका छन् भने सात कम्पनी प्राविधिक मूल्याङ्कनमा सफल भएका हुन्।

खरिद प्रक्रियामा सहभागी कम्पनीहरूले बोलपत्रको सर्तअनुसार नेपाली कम्पनीसँग संयुक्त रूपमा आवेदन दिएका थिए। बोलपत्रमा कम्तीमा एक नेपाली कम्पनीसँग मिलेर संयुक्त रूपमा आवेदन दिनुपर्ने अनिवार्य व्यवस्था रहेको छ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार प्राविधिक मूल्याङ्कनमा सफल भएका कम्पनीहरूको चैत १ गतेदेखि आर्थिक मूल्याङ्कन सुरु गरिनेछ। आर्थिक मूल्याङ्कन सम्पन्न गर्न करिब १५ दिन लाग्ने र त्यसपछि उत्कृष्ट कम्पनी छनोट गरी दाबी–विरोधका लागि सूचना प्रकाशित गरिने उनले जानकारी दिए।

दाबी–विरोध नभएमा छनोट भएको कम्पनीसँग सम्झौता गरी सुरुङमार्ग सञ्चालनको जिम्मा दिइनेछ। सम्झौतापछि जनशक्ति व्यवस्थापन र तालिमका लागि करिब एक महिना लाग्ने अनुमान गरिएको छ।

आयोजनाका अनुसार परीक्षणका रूपमा भए पनि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी वैशाखभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। छनोट भएका सेवाप्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालनको जिम्मेवारी पाउने छन्।

प्रतिक्रिया दिनुहोस्