भद्रुटारका काङ्ग्रेस नेता सिटौला भन्छन् – “पैसाको ठेकेदारले पैसा खान्छ, ३/५ लाख कमाएर आनन्दले बस्छ”



नुवाकोट,फागुन २७ । पञ्चकन्या गाउँपालिका–५ भद्रुटारका वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेसका युवा नेता माधव सिटौलाले सामाजिक सञ्जालमा व्यक्त गरेको टिप्पणीले स्थानीय राजनीतिक वृत्तमा चर्चा पाएको छ।

सिटौलाले सामाजिक सञ्जालमा लेख्दै निर्वाचन र स्थानीय राजनीतिक अवस्थाप्रति संकेत गर्दै भनेका छन्, “नेता हरुलाई पनि अहिले याद भयो होला, घात कहाँ हुँदो रहेछ भनेर। पैसाको ठेकेदारले पैसा आफै खान्छ।” उनले थप्दै लेखेका छन्, “जनताको ठेकेदारलाई मन पराउँदैनन्, सबै पार्टीको पैसा ठेकेदारकोमा आउँछ, तर भोट कसलाई हाल्ने भन्ने विचार उसैले गर्छ। अहिले भने ३/५ लाख कमाएर आनन्दले घरमा बसेको छ।”

उनको यो अभिव्यक्तिलाई धेरैले पछिल्लो निर्वाचनको मतपरिणामसँग जोडेर हेरेका छन्। यसपटकको निर्वाचनमा वडा नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक ७४५ मत प्राप्त गरेको थियो भने लामो समयदेखि काँग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको भद्रुटारमा काँग्रेसले ४१६ मत मात्र प्राप्त गरेको थियो।

स्थानीय राजनीतिक स्रोतका अनुसार भद्रुटार क्षेत्रमा काँग्रेसभित्रै गुटगत प्रभाव देखिएको थियो। केसी र महत पक्षबीच स्पष्ट धार देखिएको र कतिपय अवस्थामा काँग्रेसले काँग्रेसलाई नै सहयोग नगरेको अवस्था देखिएको एक नेताले बताए।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार भद्रुटारको पछिल्लो मतपरिणामले परम्परागत राजनीतिक आधार क्षेत्रहरूमा समेत परिवर्तन आउन सक्ने संकेत दिएको छ। यस्तो अवस्थामा दलहरूभित्रको आन्तरिक एकता र कार्यकर्ता समन्वय आगामी राजनीतिक प्रतिस्पर्धामा निर्णायक बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्