भरुवा बन्दुक पड्किँदा १७ वर्षीय किशोरको मृत्यु



डडेल्धुरा, फागुन २७ – डडेल्धुरामा घरभित्र राखिएको भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ।

परशुराम नगरपालिका–२ बसौटीमा घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर तस्वीर खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

बन्दुक पड्किएपछि गम्भीर घाइते भएका महरालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको थियो।

मृतक महरा बैतडीको शिवनाथ गाउँपालिका–४ का बासिन्दा हुन्। उनी आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्