देशका पहाडी र हिमाली क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, फागुन २७ – हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि बादल लाग्ने जनाएको छ।
महाशाखाका अनुसार हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ। यसैगरी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्नेछ भने अन्य स्थानमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले मेघगर्जन, चट्याङसहितको वर्षा तथा हिमपात हुन सक्ने क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

