धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, ३ पूर्ण रूपमा जले



सुनसरी, फागुन २७ – सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी हुँदा तीनवटा बस पूर्ण रूपमा जलेका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति ग्यारेजमा राखिएका बसहरूमा अचानक आगलागी भएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक चन्द्र खड्काका अनुसार को. १ ख ६२७४ नम्बरको कृष्ण बसबाट आगलागी सुरु भएको थियो। सोही बसबाट अन्य बसमा पनि आगो फैलिएको पाइएको छ।

आगलागीबाट प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात बस, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस र कृष्ण बस पूर्ण रूपमा जलेका छन्।

त्यसैगरी को. १ ख ३८४७ नम्बरको सुपर मादेन बस, बा. ५ ख ५८१४ नम्बरको बस र बा. ५ ख ५८०९ नम्बरको बसमा भने आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्