नुवाकोटको पञ्चकन्या गाउँपालिकाद्वारा कृषकलाई अदुवाको बीउ वितरण
नुवाकोट, फागुन २७ – जिल्लाको पञ्चकन्या गाउँपालिकाले कृषकलाई अदुवा खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले अदुवाको बीउ वितरण गरेको छ। गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत अदुवा प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकहरूलाई अदुवाको बीउ वितरण गरिएको हो।
बुधबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला के.सी., प्रमुख प्रशासकीय अधिकृत हिराधन राई तथा कृषि विकास शाखाका कर्मचारीहरूको उपस्थितिमा कृषकहरूलाई अदुवाको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार यस कार्यक्रमले स्थानीय कृषकहरूलाई व्यावसायिक अदुवा खेतीतर्फ प्रेरित गर्ने, उत्पादन वृद्धि गर्ने तथा कृषकको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अदुवा उत्पादनलाई प्रोत्साहन गर्दै पञ्चकन्यालाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
कृषि विकास शाखाका अनुसार बोसे जातको अदुवा प्रति किसान १०० केजीका दरले वितरण गरिएको हो। नुवाकोटको चारघरेमा उत्पादन गरिएको अदुवाको बीउ ५० प्रतिशत अनुदानमा कृषकहरूलाई उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो।
गाउँपालिकाले केही छुट भएका कृषकलाई पनि अदुवाको बीउ उपलब्ध गराइने जनाएको छ। साथै आगामी दिनमा पनि कृषक लक्षित विभिन्न कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै कृषि क्षेत्रलाई थप सुदृढ बनाउने योजना रहेको कृषि विकास शाखाले जनाएको छ।

