फेक ‘रेस्क्यु’मा संलग्न एक व्यक्ति पक्राउ



काठमाडौँ, फागुन २७ – नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले (सिआइबी) नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दै स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाई बीमा रकम दाबी गरी ठगी गरेको आरोपमा सिन्धुपाल्चोक, सोलु दूधकुण्ड नगरपालिका–१ का ५० वर्षीय पासाङ शेर्पालाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार शेर्पाले पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाएर बीमा रकम दाबी गरेको खुलेको छ। उनले पानोरमा हिमालय ट्रेकिङ एण्ड एक्स्पिडिसन प्रालिमार्फत नक्कली कागजात बनाइ ठगी गरेको समेत जानकारी दिएका छन्। सिआइबीले यसअघि पनि फेक रेस्क्युमा संलग्न भएको आरोपमा १० जना पर्यटन व्यवसायी र अस्पताल सञ्चालकलाई पक्राउ गरिसकेको छ।

प्रहरीले जनाएको छ कि पक्राउ परेका व्यक्तिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच पुग्ने कार्य गरेको आरोप छ। त्यसैले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम नगर्ने) र सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा पक्राउ गरिएको हो। पक्राउ परेका शेर्पालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्