इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ



काठमाडौँ, फागुन २७ – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने बताउनुभएको छ। अमेरिका र इजरायलको संयुक्त सैन्य अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको छ। उक्त अभियानले इरानको क्षेप्यास्त्र क्षमता र नौसैनिक शक्तिलाई नष्ट गर्ने तथा आणविक हतियारतर्फको सम्भावित मार्ग बन्द गर्ने लक्ष्य राखिएको जनाइएको छ। युद्ध १२ औँ दिनमा पुगेको अवस्थामा ट्रम्पले एक सञ्चार माध्यमसँगको छोटो टेलिफोन संवादमा यस्तो टिप्पणी गर्नुभएको हो।

उहाँले “म कुनै पनि बेला यो युद्ध अन्त्य गर्न चाहन्छु, यो छिट्टै समाप्त हुनेछ,” भन्नुभएको छ। यसैबीच अमेरिकी केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कूपरले फागुन १६ गते तेहरानविरुद्ध अभियान सुरु भएदेखि इरानका पाँच हजार पाँच सयभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जानकारी दिनुभएको छ। ती आक्रमणमा ६० भन्दा बढी जहाज पनि परेका छन्।

अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले युद्ध राम्रोसँग अघि बढिरहेको दाबी गर्नुभयो। उहाँले “हामी समय तालिकाभन्दा धेरै अगाडि छौँ। सोचेको छ हप्ताको अवधिभन्दा छोटो समयमा नै धेरै क्षति पुगेको छ,” भन्नुभयो।राष्ट्रपति ट्रम्पले इरानले लामो समयदेखि गरेको गतिविधिको परिणाम अहिले भोगिरहेको पनि उल्लेख गर्दै “यो उनीहरूले तिर्ने मूल्य हो, उनीहरू सजिलै यसबाट बाहिर निस्कने छैनन्,” भन्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्